चाँगुनारायण नगरपालिकामा मेयर खत्रीको एक वर्ष : के-के भए महत्वपूर्ण काम ?

भक्तपुर । चाँगुनारायण नगरपालिकाले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरेको छ । नगरपालिकाले सडक, ढल, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व सङ्कलन लगायतका विषयमा भएका उपलब्धीहरु सार्वजनीक गरेको हो ।

नगर प्रमुख जीवन खत्री नेतृत्वमा रहेको गरपालिकाले यस अवधिमा विभिन्न विषयका ५ वटा ऐन (संशोधनसमेत) तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। नगरको दिगो विकासका लागि ५ वर्षे प्रथम आवधिक योजना निर्माण भइसकेको र मध्यकालीन खर्च संरचना तयार भइरहेको मेयर खत्रीले बताउनुभयो ।

मेयर खत्रीका अनुसार यस अवधिमा नगरक्षेत्रमा ५ दशमलव ८ कि.मि. सडक कालोपत्रे गरिएको, ६ दशमलव ४५ कि.मि. सडक बिस्तार र स्तरोन्नति गरिएको छ भने ५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । चाँगुनारायण मन्दिरमा पुग्न अपाङ्गमैत्री पदमार्ग निर्माण सुरु भएको छ।

त्यस्तै नगरपालिकाको प्रशासकीय भवन र वडा नंं १ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ५ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । त्यसै गरी खानेपानीको सहजताका लागि ३ स्थानमा डिपबोरिङ्ग गरिएको तथा ३ लाख लि क्षमताको ओभरहेड ट्याङ्की निर्माण भएको छ।

नगरकोट भ्रमण वर्ष २०८२/०८३ को घोषणा गरी आवश्यक तयारी भइरहेको, बृहत्तर नगरकोट क्षेत्रको पर्यटन प्रबर्द्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका, शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको लागत साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना निर्माणको थालनी भएको छ ।

त्यस्तैगरि, नगरबासीका लागि स्वास्थ्य बीमा, कृषकहरुको प्रोत्साहनका लागि पशु बीमाको व्यवस्था मिलाइएको, गुणस्तरीय शिक्षाको प्रबर्द्धनका लागि शिक्षक शिक्षण सहायता कार्यक्रमको सुरुवात गरिएको, विद्यालय खाजा खर्चमा वृद्धि, नगरबासीलाई निःशूल्क रगतको व्यवस्था गरिएको लगायतका उपलब्धीहरु भएका छन्


प्रकाशित | २९ जेष्ठ २०८०, सोमबार १९:०९