नेकपाको बाँकि एकता ३ जेठमा घोषणा गर्ने तयारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले बाँकि एकता प्रक्रियालाई छिटो भन्दा छिटो टुंग्याउने भएको छ । नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरिरहेका हुन । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेको जनाइएको छ ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २०:५२