नागरिकता सम्बन्धी नियमावलीमा गैर आवासीय नेपालीका सुझाव समेट्छौ : प्रधानमन्त्री

काठमाडौं । गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली बनाउन गृहकार्य शूरु गरिएको छ । गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरि राजपत्रमा प्रकाशित भइसकेको गैर आवासीय नेपाली नागरिकता समावेश गरिएको विधेयक कार्यान्वयनमा आएसँगै नियमावली बनाउने गृहकार्य शूरु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताउनुहुादै नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउनुभयो । नियमावली निर्माणका क्रममा गैर आवासीय नेपालीहरुका सुझावलाई मनन गरिने पनि उहाँले बताउनुभयो ।

उहाँले गैर आवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र आगामी दिन थप सशक्त रुपमा अघि बढाउन आग्रह गर्नुभयो ।

एनआरएनए उपाध्यक्ष आर के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले गैर आवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिटै कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

भेटका अवसरमा उपस्थित कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैर आवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा एनआरएनए प्रतिनिधिमण्डलले ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैर आवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको थियो ।

भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टिबी कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव) र अब्दुल वासिद (युवा संयोजक)लगायतको सहभागिता थियो ।


प्रकाशित | २२ जेष्ठ २०८०, सोमबार २१:३४