दृढ इच्छाशत्ति र इमान्दारिताका कारण विकास निर्माणमा सबैको सहयोग भइरहेको छ : मेयर, बासुदेव थापा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आफु निर्वाचित भइसकेपश्चात नगरमा परिवर्तनको मुहार फेर्न सफल भएको बताउनु भएको छ ।

नगरका प्रत्येक वडाहरुमा थुप्रै परिवर्तन भएको भन्दै नगर प्रमुख थापाले पाँच वर्षमा १५ अर्बभन्दा धेरै बजेट ल्याएर विकास निर्माण कार्य गर्न सफल भएको बताउनुभयो ।

नगरपालिकाको वडा नं ८ ले शनिबार आयोजना गरेको सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थापाले नगरमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, भौतिक पूर्वाधार, लगायतका क्षेत्रमा उल्लेख्य परिवर्तन भएको स्पष्ट पार्नुभयो ।

उहाँले दृढ इच्छाशत्ति र इमान्दारिता भएकै कारण विकास निर्माणको कार्यमा सबैको सहयोग प्राप्त भएको बताउनुभयो । साथै इमान्दारिता पूर्वक भएका कामहरुलाई पनि आफुले सधै प्रोत्साहन गर्ने गरेको उहाँको भनाई थियो ।

आगामी दिनमा नगरपालिकालाई ब्यवस्थित र नमूना बनाउन रचनात्मक कार्यमा जोड दिएको र त्यसका लागि नगरबासीसंग सल्लाह सुझावको अपेक्षा राख्नु भयो । नगरपालिकाले सिप विकास तथा रोजगारीका कार्यक्रमलाई अब प्राथमिकता दिने पनि मेयर थापाले बताउनु भयो ।

कार्यक्रममा सिपाडोलबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बागमती प्रदेशका सासंद किरण थापा, नेपाल प्रहरीका प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) दिपक थापा, शिक्षातर्फ पिएचडी गर्ने किशोर हाकुदुवाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, संगीततर्फ अल्मोडा उप्रेती, गीत–संंगीततर्फ महेश्वर बोहरा, पत्रकार मोहन बल्ल, कलाकार यादव थापा, शिक्षा तर्फ रविन्द्र कुमार थापा, राष्ट्रिय कवडी प्रतियोगितामा स्वर्ण पदक विजेता राजेन्द्र तामाङ्ग, राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अञ्जली मचामसी रहनु भएको थियो ।

त्यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक विजेता अमिन प्रजापति, चिकित्सक दिपेन्द्र लोहला, भक्तपुर बहुमुखी क्याम्पसका लेक्चरर पुण्यराम सुकुपायो, शारीरिक सुगठनका खेलाडी हरि थापा र कलाकार सुरेश वाइवालाई सम्मान गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापा, नेपाल प्रहरीका प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) दिपक थापाले सम्मानित हुन पाउदा खुशी व्यक्त गर्दै आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले अनुभव र जोश जाँगरलाई मिलाएर अघि बढ्दा उन्नत समाज बनाउन सफल भएको बताउनु भयो । उहाँले सम्मानित हुने सम्पूर्णलाई बधाई समेत दिनु भयो ।

यसैगरी कार्यक्रममा तेक्वाण्डो खेलको प्रशिक्षणमा सहभागी खेलाडी, वडा कार्यालयमा आयोजित युवा शसक्तिकरण सहभागीहरुलाई, ड्राइभिङ प्रशिक्षणमा सहभागीहरुलाई तथा कफि मेकिङ्गमा सहभागीशरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रकाशित | २० जेष्ठ २०८०, शनिबार २१:००