नागरिकता विधेयक प्रमाणीकरण भएकोमा एनआरएनएद्धारा खुसी ब्यक्त, सम्पत्तिको सुरक्षा र लगानीको वातावरण बन्ने विश्वास

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी ब्यक्त गरेको छ । संघले स्थापनकालदेखि उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको माग सम्बोधन भएकोमा खुसी ब्यक्त गरेको हो ।

एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्ति जारी गर्नु हुँदै विधेयक प्रमाणीकरणसँगै एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रले छिट्टै सार्थकता पाउने, नेपालमा रहेको सम्पत्तिको सुरक्षा र लगानी वातावरण बन्नेमा विश्वास ब्यक्त गरिएको छ ।

संविधानमा गैर आवासीय नेपालीलाई राजनीतिकबाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रत्याभूति गरिएको छ ।

विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु भएको हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोक्नु भएको थियो ।

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदा सुझाव दिदैं संसद्लाई फिर्ता पठाउनु भएको थियो ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि भण्डारीले त्यसपछि पनि प्रमाणीकरण गर्न मान्नु भएको थिए ।

फागुन २५ मा राष्ट्रपति बन्नु भएका पौडेलले सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको हो । सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।


प्रकाशित | १७ जेष्ठ २०८०, बुधबार २०:०९