राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराते प्रतियोगिता सम्पन्न, मेयर बासुदेव थापाद्धारा नगद पुरस्कारसहित मेडल वितरण

भक्तपुर । दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । ३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भक्तपुरको ख्वप फुटसलमा भएको दुई दिने प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार विजेतालाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले खेलकुदको क्षेत्रबाट नगरपालिकाको मात्र नभई राष्ट्रकै नाम र शान बढाउन सक्ने गरि दक्ष जनशक्तिको उत्पादन गर्ने बताउनुहुँदै खेलकुदको बिकासका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अहिले पनि नगरपालिकाले सहयोग गरिरहेको बताउनु भयो ।

मेयर थापाले विजयी खेलाडीलाई शुभकामना दिनुहुँदै खेलमा हारजीत जे भए पनि खेलाडीले सहभागि हुनु नै ठूलो कुरा भएको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी पनि सहभागि हुनुहुन्थ्यो ।

प्रतियोगिताको खुल्ला ५५ केजी मुनी एलीस बम्मजन प्रथम, सन्जेश तामागं द्धितीय, विवेक घिमिरे तृतीय र रविन तामागंले सान्त्वान स्थान हासिल गर्नुभयो ।

५५ केजी मुनी महिलाा खुल्लातर्फ मञ्जु विक प्रथम, अनुजा नेपाली द्धितीय, रिना माझी तृतीय, प्रतिक चन्द सान्त्वान हुनुभयो । ५५ केजी मुनी पुरुष खुल्ला तर्फ विनय सिंह प्रथम, विक्रम मोक्तान द्धितीय, सनी सिंह तृतीय र सन्देश मानन्धर सान्त्वना हुनुभयो ।

एकेडेमी केन्द्रीय सदस्य सुमित्रा थापाका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार, दोश्रो हुनेलाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कार, प्रमाण पत्र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा १४५ खेलाडी सहभागि थिए ।


प्रकाशित | ४ जेष्ठ २०८०, बिहीबार ०८:२२