भक्तपुर : सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेललाई बिदाई गरिएको छ । कँडेलले नगरपालिकामा करिब दुई वर्ष कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएको थियो ।

आइतबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बासुदेव थापाले कँडेललाई खादा, भक्तपुरको भाँदगाउले टोपी र प्रशंसा पत्रसहित बिदाई गर्नु भयो ।


सो अवसरमा नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडाध्यक्षहरु लगायत जनप्रतिनिधि र कर्मचारीहरुले पनि खादा लगाएर बिदाई गर्नु भएको थियो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले कर्मचारी र जनप्रतिनिधि एक अर्काका परिपूरक भएको बताउनुहुँदै कर्मचारी र जनप्रतिनिधिबीचमा समन्वय नभई विकासमा निर्माणमा फड्को मार्न नसकिने बताउनु भयो ।

आफ्नो पहिलो कार्यकालमा नगरबासी र कर्मचारी सबैको सहयोग मिलेकै कारण विकास निर्माणमा फड्को मार्न सफल उहाँले भएको बताउनुभयो ।

मेयर थापाले आफ्नो दोस्रो कार्यकालमा सुशासन कायम गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन तथा अधुरा योजना पूरा गर्न लागिपरेको बताउँदै कर्मचारीदेखि सबैको सहयोग भइरहेको र आगामी दिनमा पनि सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको श्रीधर केसीलाई पनि आइतबारै नगरपालिकाले स्वागत गरेको छ । नगरपालिका प्रमुख थापाले अधिकृत केसीलाई खादा र भक्तपुरको भाँदगाउले टोपी लगाएर स्वागत गर्नु भएको हो ।

केसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो भने विभिन्न स्थानीय तहमा पनि कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव छ ।


प्रकाशित | १७ बैशाख २०८०, आईतवार २१:००