पूर्व राज्यमन्त्री खड्काको पहलमा अरुण तेस्रोमा प्रयोग भएको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणमा प्रयोग भएको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी थालिएको छ । संखुवासभाबाट संविधानसभा सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काको पहलमा अरुण तेस्रो आयोजना प्रयोग हुँदै आएको १५० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउन थालिएको हो ।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले संखुवासभाको अरुण जलविद्युत आयोजनाको ड्याम साइट, र पुखुवा दोभानमा अक्सिजन सिलिण्डर रहेको जानकारी गराएसँगै पूर्व राज्यमन्त्री खड्काले उक्त जलविद्युत आयोजना र संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अक्सिजन संखुवासभा जिल्ला अस्पताल र काठमाडौँ ल्याउन पहल गर्नुभएको हो । खड्का राज्यमन्त्री हुँदा उपाध्याय खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव हुनुहुन्थ्यो । तत्कालिन समयमा मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउन राज्यमन्त्री खड्का र सचिव उपाध्यायले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

पूर्व राज्यमन्त्री खड्काले संखुवासभाका सबै जलविद्युत गृहमा रहेका अक्सिजन सिलिण्डरलाई कोरोना सङ्क्रमणको उपचारमा लगाउनका लागि आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले संखुवासभामा आवश्यक अक्सिजन सिलिण्डर संखुवासभामा राखेर बाँकीलाई काठमाडौँ ल्याउनका लागि सम्बन्धित निकायसँग छलफल गरिरहनुभएको छ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १४:१२