एसीसी प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं : एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४।३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८/८ ओभर घटाइएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए ।

त्यसअघि रोहितले दुई जीवनदान पाएका थिए । ब्यक्तिगत १८ र ६० रनमा क्याच कुवेतका खेलाडीले जीवनदान पाएका थिए ।चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भएका थिए ।

ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०।५ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए ।

भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।

नेपालका आरिफ शेख स्पिनर यासिन पटेलको ३६ औं ओभरको दोस्रो बलमा १९ रनमा स्टम्पिङ आउट भए । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपेन्द्रसिंह ऐरी कट विहाइन्ड हुँदै डक आउट पेभेलिएन फर्किएका थिए । सोमपाल कामी १३, करण केसी ७, सन्दीप लामिछाने ५ र ललितनारायण राजवंशीले २ रन बनाए ।

कुवेतका कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । सैयद मोनिबले एक विकेट लिए ।

फाइनल सोमबार हुनेछ । नेपालले युएई र ओमानबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । फाइनलमा पुगेसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।


प्रकाशित | १६ बैशाख २०८०, शनिबार १९:२३