जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुल्यो

काठमाडौं : सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको निर्णयमाथि अंकशु लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिननपर्ने आदेश गरेसँगै बाटो खुला गरिदिएको हो ।

न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको परिपत्र अनुसार नागरिकता वितरण तत्कालका लागि रोक्न भन्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको हो । गृह मन्त्रालयको पत्रअनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो।

यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो। चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १८:३५