प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

काठमाण्डाै :  आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच सोमबार जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । काठमाण्डाै महानगरपालिका र लान्जोउ नगरबीच भगिनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । काठमाण्डाैमा साेमबार आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखमा काइयुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै देशका नागरिकको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले याे समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उपप्रमुख काइयुनले दुवै देशबीचको पुरानो सम्बन्धलाई जनस्तरबाट प्रवर्द्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । रासस


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०७:२१