प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बिकी काम सक्ने छौं ।’

अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन बलियो हुँदै गएको बताउनुभयो । सवैलाई अधिकार माओवादीले दिएको पनि बताउनुभयो । उहाँले माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले गरेको बताउनुभयो । उहाँले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताउनुभयो । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै उहाँले देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बताउनुभयो । उहाँले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताउनुभयो । माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि उहाँले बताउनुभयो ।


प्रकाशित | २० चैत्र २०७८, आईतवार १५:४२