पीएनओ र एनआरएन कार्डको शुल्क घटाउन गैर आवासीय नेपाली संघको माग

काठमाडौं: नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैर आवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क घटाउन सरकारको ध्यानर्कषण गरिएको छ । पीएनओ र एनआरएन कार्ड अत्यन्तै महँगो भएको भन्दै अति न्युन संख्याले मात्र उक्त कार्ड लिएकाले पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन सरकारको ध्यानर्कषण गरिएको हो ।

आइतबार पराष्ट्र मन्त्रालयमा पुगेको एनआरएनएको एक प्रतिनिधिमण्डलले मन्त्री एनपी साउदलाई ध्यानर्कषण गराउँदै ज्ञापनपत्र बुझाएको हो । सरकारले नेपाली मूलको विदेशी नागरिकका लागि १ हजार ५ सय रुपैयाँ, यूरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया महादेशमा पर्ने मुलुकहरु, न्युजिल्याण्ड, एसिया महादेशका जापान र कोरियाको लागि अमेरिकी डलर ५०० बराबरको त्यस दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार हुन आउने नेपाली रुपैयाँ र अन्य मुलुकको लागि अमेरिकी डलर २५० तोकिएको छ ।

एनआरएनएले मन्त्री साउद समक्ष ८ बुँदे माग पत्र पेश गरेको हो । ज्ञापनपत्रमा गैर आवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न माग गरेको छ ।

त्यस्तै, गैर आवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न भनीएको छ ।

ज्ञापनपत्रमा भनीएको छ, ‘गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न, संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन माग गर्दछौ ।’

गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न समेत माग गरिएको छ ।

भेटमा संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष कुल आचार्यसहित पूर्व कोषाध्यक्ष तथा भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, सचिब गोबिन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम.सि पोखरेल र एनसिसी रसियाका अध्यक्ष शिवमणी भुर्तेललगायतको सहभागिता थियो ।


प्रकाशित | ४ बैशाख २०८०, सोमबार १७:४५