दुर्घटना अपडेट: सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, ४४ जना घाइते

काठमाडौं : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।  मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार केही शव खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ ।

दुर्घटनामा परी ४४ जना घाइते भएका छन । घाइते ४४ जनामध्ये ४३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने एक जना महिलालाई ट्रमा सेन्टर रिफर गरिएको छ । मृतकको सनाखत हुन भने बाँकी छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार जारी रहेको जानकारी दिनुभयो ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित | १७ कार्तिक २०७६, आईतवार १६:५५