फ्यानहरु भन्छन ‘नेइमार बार्सिलोना फर्क’

एजेन्सी : युरोपियन च्याम्पियन्स लिग फुटबलमा अप्रत्यासित हारको सिकार हुँदै प्रतियोगिताबाटै आउट भएपछि स्पेनिस बार्सिलोनाका फ्यानहरूले पूर्वखेलाडी ब्राजिलियन नेइमारलाई क्लब फर्किन अनुरोध गरेका छन् । उनीहरूले बार्सिलोनालाई अझै पनि नेइमारको आवश्यकता रहेको भन्दै पुनः बार्सिलोनै फर्कि अनुरोध गरेका हुन् ।

गत राति बार्सिलोना सेमिफाइनलमा इंग्लिस टोली लिभरपुलसँग ४–० ले पराजित हुँदै आउट भयो । आफ्नो घरमा भएको पहिलो लेग ३–० ले जिते पनि अवे मैदानमा ४–० को अप्रत्यासित हार व्यहोर्दा बार्सिलोना समग्रमा ४–३ को हारसहित लगातार चौथो वर्ष पनि युरोपको सबैभन्दा ठूलो प्रतिोगिताबाट आउट भयो ।

बार्सिलोनाले अवे मैदानमा खराब प्रदर्शन गर्दा ऊ युरोपियन प्रतियोगिताको इतिहासकै सबैभन्दा खराब मोडमा उभियो । सो हारसँगै बार्सिलोनाका फ्यानले ३–० को अग्रता जोगाउन नसक्नु र अवे मैदानमा १ गोल पनि गर्न नसकेको भन्दै बार्सिलोनाका खेलाडी र प्रशिक्षकप्रति खनिएका छन् ।

उनीहरूले बार्सिलोनामा अझै पनि नेइमारको आवश्यकता रहेको र लिभरपुलसँगको खेलबाट यो झन् प्रष्ट भएको बताएका छन् । उनीहरूले ‘बार्सिलोना नेइमारका लागि र नेइमार बार्सिलोनाका लागि’ भन्दै २ वर्षअघि क्लब छाडेका खेलाडीलाई पुनः स्पेन फर्किन अनुरोध गरेका छन् ।

थुप्रै फ्यानरूले बार्सिलोनाको अफिसियल ट्वीटर अकाउन्ट र फेसबुक पेजमा प्रतिक्रिया दिँदै नेइमारलाई फिर्ता ल्याउन माग गरेका छन् ।नेइमार उनै खेलाडी हुन्, जो २ वर्षअघि फ्रेन्च क्लब पिएसजीविरुद्ध अन्तिम १६ मा आफ्नो घरमा ०–४ ले हारेर पनि अवे लेगमा ६–१ को कमब्याक जित निकाल्दा नायक बनेका थिए । त्यसबेला बार्सिलोनालाई सनसनीपूर्ण कमब्याक जित दिलाउन नेइमारले २ गोल गरेका थिए ।

तर, सो सिजन सकिएपछि नेइमारले बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध भएका थिए । नेइमार अप्रत्यासित रूपमा विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए ।नेइमार बार्सिलोनामा लिओनल मेस्सीको छायाँबाट मुक्त हुन स्पेन छाडेको बताइन्छ । नेइमार पिएसजीमा अनुबन्ध भएयता उनको टिम पनि लगातार अन्तिम १६ बाटै प्रतियोगिताबाट आउट हुँदै आएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १०:५२