अविश्वसनीय पुनरागमन गर्दै टोटनह्याम फाइनलमा

काठमाडौं: युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता फेरि एकपटक अविश्वसनीय पुनरागमन हुँदा इंग्लिस क्लब टोटनह्यामले नयाँ इतिहास रचेको छ । टोटनह्याम इतिहासमा पहिलोपटक यस प्रतियोगिताको फाइनल पुगेको छ ।गत राति सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा २–० ले पछि परेको स्थिति उल्टाएर सनसनीपूर्ण कमब्याक गर्दै टोटनह्याम फाइनल पुग्यो । डच टिम आयाक्सको घरमा पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामले दोस्रो हाफमा सनसनीपूर्ण रूपमा ३ गोल हान्दै अविश्वसनीय कमब्याक सफल बनायो ।

त्यसअघि आफ्नो घर वेम्बलीमा भएको पहिलो लेग टोटनह्यामले ०–१ ले हारेको थियो । दोस्रो लेगमा कमब्याक गर्ने लक्ष्ययसहित आयाक्सको घरमा उत्रिएको ऊ खेलको ३५औं मिनेटमा पुग्दा दोस्रो लेगको २–० तथा एग्रीगेटमा ३–० ले पछि परिसकेको थियो ।यस मोडसम्म पुग्दा टोटनह्यामका लागि कमब्याक करिब असम्भवजस्तै देखिएको थियो । तर, दोस्रो हाफमा उसले चमत्कार नै गरिदियो । जहाँ उसले ४१ मिनेटको बीचमा ३ गो हान्दै दोस्रो लेगको २–० को अवस्था मात्रै उल्टाएन, पहिलो लेगको नतिजासमेत उल्टायो ।

टोटनह्यामका लागि लुकास मोउराले खेलको ५५औं र ५९औंमा गरी २ गोल गरे भने उनैले ९० मिनेटपछि थपिएको समयमा ह्याट्रिक गोल गरेपछि टोटनह्यामले दोस्रो लेग २–३ ले जित्यो भने अघिल्लो लेगको नतिजासमेत जोड्दा समग्रमा ३–३ भयो ।तर, एग्रीगेटमा बढी अवे गोलमा गरेका आधारमा उसले आयाक्सलाई आफ्नै घरमा स्तब्ध बनाउँदै ऐतिहासिक फाइनलमा आफूलाई उभ्यायो ।

त्यसअघि खेलको पहिलो हाफमा घरेलु टोली आयाक्सका लागि खेलको पाँचौं मिनेटमा लि लिग्ट र ३५औं मिनेटमा हाकिम जियाचल गोल गरेर पहिलो हाफमा २–० तथा एग्रीगेटमा ३–० को अग्रता दिएर टिमलाई फाइनल नजिक पुर्याएको थियो । तर, दोस्रो हाफमा उसले अग्रता जोगाउन नसक्दा मुखैबाट च्याम्पियनस लिगको फाइनल गुमायो ।

 


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १०:१९