फोहोरबाट बायोग्यास उत्पादन कार्य अत्यन्तै राम्रो : शेरबहादुर देउवा

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिकाको फोहोरबाट बायोग्यास उत्पादन कार्य फोहर व्यवस्थापनको प्रभावकारी माध्यम रहेको बताउँदै यस्तो परियोजना देशभरका नगरपालिकाहरुमा निर्माण गर्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले उद्घाटनको अवसरमा अत्यन्तै राम्रो कार्यको शुरुवात भएको र यस कार्यबाट फोहोर व्यवस्थापनको समस्या समाधानमा सघाउ पुग्ने भएकोले यस्ता परियोजना देशका अन्य स्थानहरुमा पनि निर्माण गर्नुपर्ने बताउनुभयो ।

साथै उक्त अवसरमा परियोजना निर्माण कार्यमा संलग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका, भेञ्चर वेष्ट टु इनर्जी प्रा।लि।लगायत सम्पूर्ण निकायहरुलाई उहाँले धन्यवाद दिनुभयो ।

३० टन दैनिक भरण गर्नुपर्ने जैविक फोहरको परिमाण क्षमताको उक्त परियोजना नगर क्षेत्रबाट उत्पादन हुने फोहोरबाट बायोग्यास उत्पादन गर्ने नेपालकै पहिलो परियोजनाको रुपमा रहेको छ ।

कूल १७ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त परियोजनामा केन्द्रको अनुदान ४० प्रतिशत अर्थात् ६ करोड ९० लाख रहेको छ । बाँकी ६० प्रतिशत लगानी परियोजना लगानी कर्ता भेञ्चर वेष्ट टु इनर्जी प्रालिले गरेको छ । परियोजनाबाट दैनिक १२५० केजी बायोग्यास तथा ६.५ केजी जैविक मल उत्पादन हुनेछ । परियोजनाबाट उत्पादित बायोग्यास ग्यास टेम्पो चलाउन उपयोग गरिनेछ भने उत्पादित जैविकमल स्थानीय बजारमा बिक्री गरिनेछ ।

 

 


प्रकाशित | २० पुष २०७८, मंगलवार १७:२१