कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिपरेका छौं: मेयर कार्की

कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन

काठमाडौं । प्रसिद्ध धार्मिक तथा पवित्र तीर्थस्थल कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा सिघ्र प्रभावी योजना अर्न्‍तगत निर्मित कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पवित्र धार्मिक स्थल कागेश्वरी धामलाई गोकर्णेश्वर नगरपालिकासँग जोड्ने उद्देश्यका साथ पैदल मार्ग निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

धामले ऐतिहासिक परिचय र महत्व बोकेको बताउँदै मेयर कार्कीले कार्यअष्ठमीको दिन परापूर्वक कालदेखि चारैतीरबाट बौद्ध धर्मालम्बी र हिन्दू धर्मावलम्बूले विभिन्न झाँकीसहित देशभरबाट आएर दर्शन गर्ने प्रचलन रही आएको बताउनुभयो ।

कार्कीले यो वर्ष मात्र ४ लाख दर्शनार्थीहरु आएर दर्शन गरेको र यस्तो महत्वपूर्ण ठाउँलाई नेपाली सेनाले आफ्नो कर्तब्य ठानेर विकास गर्न सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

गुरुयोजनासहित पवित्र धामलाई विकास गर्न नगरपालिका अगाडि बढिरहेको भन्दै मेयर कार्कीले यहाँको विकासमा स्थानीयसँगै नगरपालिका, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय हुँदै नेपाली सेना जोडिनु अत्यन्तै खुसीको कुरा भएको बताउनुभयो ।

‘सबै जना मिलेर नै यो ठाउँको विकास गर्ने र गुरुयोजना अनुसार कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर पर्यटकको आर्कषणको थलोको रुपमा विकास लागिपरेका छौ’, उहाँले भन्नुभयो ।

बाटोको नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागर बहादुर थापाले समुद्घाटन गर्नु भएको थियो भने कागेश्वरी मन्दिर व्यवस्थापन तथा पर्यटन विकास समिति र कागेश्वरी मनोहरा नगरपालिका-१ वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मणीराम अर्याल र वडाध्यक्ष मुकुन्द गजुरेललगायतले कागेश्वरी धामको विकासका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।


प्रकाशित | २६ चैत्र २०७९, आईतवार २१:०८