युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई ९ रनले हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ। डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले युएईलाई ९ रनले हराएको हो । यो जित सँगै नेपाल आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो ।नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले ।कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे।

कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए ।आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।


प्रकाशित | २ चैत्र २०७९, बिहीबार १८:०३