माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने

चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।

आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको आयोजना प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्ने हुन्छ ।

पानी रोक्ने र छोड्ने काम गर्दा कुनै बेला एकै पटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुनसक्छ । यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहन सक्छ । यो बेलामा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा निकाल्ने, बस्तुभाउ ओसारपसार गर्नेलगायतका काम नगर्न आग्रह गरिएको छ । आयोजनाको बाँध स्थलदेखि सिँगटी बजारसम्म प्रत्यक्ष र त्योभन्दा तल्लो क्षेत्रमा पनि अप्रत्यक्ष रूपमा पानी घटबढ भइरहने आयोजना प्रवक्ता डा। न्यौपानेले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रका स्थानीय तह र स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताउँदै उहाँले भन्नुभयो, “सूचनाको उल्लङ्घन गरी कुनै प्रकारको क्षति भएमा आयोजना जवाफदेही नहुने आयोजनाद्वारा जारी सूचनामा उल्लेख छ । ” गोरखापत्र दैनीक


प्रकाशित | १२ बैशाख २०७८, आईतवार १०:०२