एनआरएनए ओसेनीयाको सम्मेलनमा सहभागि हुन कानून मन्त्री ढकाल अष्ट्रेलिया प्रस्थान

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत प्रस्थान गर्नुभएको छ । मन्त्रीसँगै काठमाडौंबाट एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवाल पनि अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो ।

कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, कुमार पन्त, महासचिव बद्री केसी, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत सहभागि हुनुहुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नुहुनेछ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जानकारी गराउनुभयो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार २१:१७