कांग्रेस सभापति देउवाले गरे सभामुख र सरकारको कार्यशैलीप्रति कडा शब्दमा निन्दा

काठमाडौ: कांग्रेस सभापति शेर बहादर देउवाले आफूहरु कुर्सी रेलिङ भाच्ने प्रतिपक्षी नभएको बताउनुभएको छ । संसदको मंगलबारको बैठकमा संसदीय भाषा र मर्यादामा प्रधानन्त्री नरहेको भन्दै कडा शब्दमा निन्दा समेत गर्नुभयो । नेपाली कांग्रेसको जागरण अभियानका क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले त्यसको विरुद्ध नेपाली कांग्रेस लड्ने बताउनुभयो ।
मंगलबार प्रधानमन्त्रीले संसदमा गैर संसदीय भाषा बोल्दा आफूहरुले विरोध गर्दा त्यसलाई सभामुखले वेवास्ता गरेको आरोप समेत लगाउनुभयो ।

सभापति देउवाले आफ्नो पार्टीको सो मागअनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गर्नुभयो । ‘धेरै सभामुख भए,’ सभापति देउवाले भन्नुभयो, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरीहता प्रकट गरे।’

‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि का‌ंग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई त्यो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १७:५३