टोकियोमा जारी विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा नेपालबाट तीन जना मेयर सहभागि

टोकियो : काठमाडौं उपत्यकाका तीन जना मेयरहरुसहित नेपाल सरकारका वरिष्ठ कर्मचारीहरु भूकम्प लगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी जापानको दुई साता लामो तालिममा सहभागि हुनु भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आयोजनामा टोकियो सेन्टरमा भइरहेको तालिममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीसहित नेपाल सरकारका बिभिन्न मन्त्रालयका ५ जना वरिष्ठ कर्मचारीहरू सहभागी हुनुहुन्छ ।

कागेश्वरीका मेयर कार्कीले तालिममा जापान सरकारको नगरपालिका देखि प्रदेश सरकार, केन्द्रीय सरकारको प्रधानमन्त्री कार्यालय र अन्य बिभिन्न मन्त्रालयहरू, बिभिन्न एजेन्सीहरूको जिम्मेवारी, भुमिका साथै आपसी समन्वयका बिबिध पक्षमा प्राध्यापक सोतारू निसिकुवा लगायतका ब्यक्तित्वहरूको कार्यपत्र प्रस्तुती, स्थलगत अध्ययन र अवलोकन भ्रमण ज्ञानबर्धक र उपलब्धिपूर्ण भईरहेको बताउनुभयो ।

‘तालिममा भुकम्प, बाढी पहिरो, समुन्द्री आँधी, ज्वालामुखी बिष्फोटन जस्ता बारम्बार दोहोरीने दुर्घटनाबाट बच्न जापान सरकारले अध्ययन अनुसन्धान, नीति निर्माण, कार्यक्रम संचालनमा गरेका प्रयासहरू प्रशंसनिय र अनुकरणीय अनुभब भयो’, मेयर कार्कीले भन्नुभयो ।

जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा यो तालिम कार्यक्रम आयोजना गरिएको हो ।


प्रकाशित | २३ फाल्गुन २०७९, मंगलवार १८:५२