सत्ता गठबन्धनको बैठक सकियो, एमसिसीको विषयमा जुटेन सहमति, भोलि पुन :बस्ने

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्न बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठक संसद सुचारु कसरी गर्ने, एमसीसीलाई संसदमा कसरी लाने भन्ने विषयमा केन्द्रीत थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्ने गरी बैठक सकिएको बताउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म एमसिसी निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव राख्नु भएको थियो । माओवादी र एकिकृत समाजवादीका नेताहरुले एमसीसी संसदमा टेबल गर्नु अघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी हुनुुहुन्थ्यो ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार २०:२४