विकास निर्माणमा साझा धारणा बनाउने पूर्वी उपत्यकाका ६ वटा नगरपालिकाबीच समझदारी

काठमाडौं:  पूर्वी उपत्यकाका ६ वटा नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको छ । पूर्वी उपत्यकाका ६ वटा नगरपालिका गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर, सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीका अनुसार पूर्वी उपत्यकाका नगरपालिकामा भइरहेका विकास निर्माणका प्रयासहरु, यहाँको आवश्यकता, यो सँग सम्बन्धी अधिकार सम्पन्न बाग्मती सम्यता विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, पिआईडी, केयूकेएलबीचको समन्वयलाई कसरी अगाडि बढाउने ? समस्याहरु के-के छन् ? स्थानीय तहको धारणा के हो ? अरु संस्थाले के गरिरहेका छन र समन्यलाई कसरी अगाडि बढाउने ? भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैठकले विकास निर्माणमा साझा धारणा बनाउने सहमति गरेको हो ।

६ वटा कार्यपत्र प्रस्तुत कार्यक्रमले विशेष गरि पूर्वी भेगमा देखिएका अल्झनहरुका विषयमा साझा धारणहरु बनाउने, त्यसलाई कार्यान्वयनमा लग्ने र भइरहेका विकासलाई छिटो, छरिटो र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने समझदारी भएको मेयर कार्कीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is upendra-nagarkoti-1024x768.jpg

पूर्वी भेगमा मुख्य गरि दुई वटा ठूला शहरका योजना छन् । पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा बन्ने भनीएको स्मार्ट सिटी बनाउने योजना विगत सात वर्षदेखि अन्यौलनमा छ । बैठकले विगत सात वर्षदेखि अगाडि बढाउने भनीएको स्मार्ट सिटीको निर्माणलाई निक्यौलमा पुर्याउनुपर्ने निश्कर्ष निकालेको छ ।

बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले नेपाल सरकारको सहमतिमा एक महिनाभित्र योजना कार्यान्वयन गराउन एक समिति समेत गठन गरिएको छ ।

त्यस्तैगरि, मनोहरा र बाग्मती करिडोर निर्माण कार्यलाई चाँडो भन्दा चाँडो सम्पन्न गरिनुपर्नेमा बैठकले जोड दिएको छ । बाग्मती करिडोरको निर्माण कार्य अगाडि बढिरहेकाले प्रभावकारी ढंगले चाँडो सक्ने र जे जस्ता समस्या देखिएका छन तिनीहरुलाई मिलाउँदै जानुपर्ने र मनोहरा करिडोरको धेरै काम गर्न बाँकि रहेकाले त्यसलाई कम्तिमा साखुसँग पूरा गर्नका लागि बजेटकोे ब्यवस्थापन र तयारी गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

This image has an empty alt attribute; its file name is nagarkot-traning-1024x768.jpg

मनोहरा करिडोरसँगै एकीकृत जग्गा विकासको अवधारणलाई अगाडि बढाएर बस्ती विकास पनि सँगै सँगै लग्न र प्रभावकारी ढंगले अगाडि बढाउन पनि बैठकले माग गरेको छ । मनोहरा करिडोभित्र कागेश्वरी, शंकरापुर र गोर्कर्णेश्वर नगरपालिकाकाको २५ हजार रोपनी क्षेत्रफल पर्छ ।

त्यस्तै, बैठकले विकास निर्माणमा डुब्लीकेशन हुन नहुने र त्यसका लागि सबै तहबीच समन्वय गर्ने निर्णय पनि भएको छ । स्थानीय तहले तल्लो तहमा गर्ने सबै समन्वय गर्ने, वातावरण बनाउन पहल गर्ने र स्थानीय आवश्यकको बोध गराउनुपर्ने र अन्य निकायले स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरेर नीति तथा कार्यक्रम, योजना र बजेट तयार गर्ने निर्णय गरेको छ ।

मेयर कार्कीले पूर्वी भेगका स्थानीय तह र सरोकारहरुबीच महत्वपूर्ण शूरुवात भएको बताउँदै यहाँको विकास निर्माणलाई समन्वयात्मक र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाको संयोजनमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, शंकरापुर नगरपालिकाकी उपमेयर समिता श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालसहित सरोकारावालाहरुको सहभागिता थियो ।


प्रकाशित | १० फाल्गुन २०७९, बुधबार २१:०६