सूर्यविनायक नगर अस्पतालले मनायो पहिलो वार्षिकोत्सव (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगर अस्पतालले आइतबार पहिलो वाषिर्कोत्सव मनाएको छ । वार्षिकोत्सव नगर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच केक काटेर मनाइएको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै नगरपालिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले अस्पताल शूरु गर्दाको क्षण स्मरण गदै अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको बताउनुभयो ।

मेयर थापाले रात दिन नभनी अस्पताल सञ्चालनमा ल्याएको बताउँदै आगामी दिनमा विज्ञ, नगरबासी सबैको राय सुझाव अनुसार अस्पताललाई ब्यवस्थित बनाएर सेवा विस्तार गर्दै लगिने बताउनुभयो । मेयर थापाले अस्पताल मन्दिर भएकाले यसलाई राम्रो बनाउन सबै लाग्नुपर्नेमा जोड समेत दिनुभयो । 

नगर अस्पतालले स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गर्दै आएको बताउँदै मेयर थापाले नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई छुटको ब्यवस्था पनि गरिरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले कुनै पनि संस्था स्थापना गर्दा त्यसको एउटा उद्देश्य हुने र त्यो पूरा गर्नका लागि निरन्तरको मिहेनत आवश्यक पर्ने बताउनुहुँदै सेवा दिने क्रममा कमेन्ट नभई फिडब्याकको खाँचो रहेको बताउनुभयो । 

नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेलले अस्पतालको थप भवन निर्माणको लागि केहि सातामै टेन्डर प्रक्रियाको काम हुने बताउँदै नयाँ भवनको निर्माण यही आर्थिक वर्षबाट शूरु हुने जानकारी दिनुभयो । 

सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पताललाई नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा अस्पताल आफैमा आत्मनिर्भर हुने गरि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.सागर राजभण्डाले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पताल परिसर निकै सुन्दर र सफा छ भने वरिपरिको वातावरणले सबैलाई लोभ्याउँने गरेको छ ।

निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ ।

आफ्नै अक्सिजन प्लान्ट रहेको अस्पतालमा स्थानीय जनसमुदायहरुले पनि यहिबाट कम मुल्यमा अक्सिजन भरेर लग्ने गरेका छन् जसले गर्दा स्थानियहरु लाभान्वित भएका छन् ।

अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् । 


प्रकाशित | ७ फाल्गुन २०७९, आईतवार १८:२५