रोगबाट बच्ने उपाय अपनाएर दसैं मनाउनुपर्छ

डा विश्वबन्धु बगाले

दसैं नेपालीको महान चाड भएकाले पनि यसले धेरै महत्व राखेको हुन्छ। तर यस वर्ष विगतका वर्षहरुमा जस्तो अवस्था सामान्य छैन। 

दसैंलाई लिएर मेरो धेरै ठूलो र विशेष योजना त छैन तर पहिले जसरी मनाउँदै आएका थियौं, यस वर्ष पनि त्यसरी नै दसैं मनाउने योजना भने छ। यस वर्षको दसैं अलि सावधानीपूर्वक मनाउन आवश्यक छ। 

मेरो परिवारमा धेरै सदस्य पनि छैनन्। ५/६ दिनसम्म टीका लगाउने हाम्रो चलन पनि छैन। अहिले कोरोनाका कारण सबै आफन्तकहाँ जान सक्ने वातावरण छैन। पारिवारिक रुपमा धेरै जमघट हुनु जोखिमपूर्ण पनि छ। 

कोरोनाको जोखिम बढ्दै जाँदा धेरै परिवारिक जमघट नगरेकै राम्रो हुन्छ। त्यसैले पनि आफन्तजनको घरमा जाने क्रम पनि यस वर्ष कम हुन्छ होला। 

म कोरोना संक्रमित भएर ठिक भइसकें। तर फेरि पनि कोरोना संक्रमण हुँदैन भन्ने छैन। त्यसैले सावधानीपूर्वक दसैं मनाउनु म र मेरो परिवारको लागि अति आवश्यक छ। दसैंमा सकेसम्म भेटघाट कम गर्ने र छोट्याउने मेरो योजना छ। 

हामीले सकेसम्म कोरोनाबाट बच्ने उपाय अबलम्वन गर्दै दसैं मनाउनुपर्छ। विगतका वर्षहरुमा जस्तो अहिले धेरै भेटघाट र जमघट गर्नु हुँदैन। एकै ठाउँमा जमघट भएर रमाइलो गर्ने परिपाटी अहिलेको अवस्थामा स्वास्थ्यका हिसाबले ठिक छैन।

चाडपर्वसँगै जाडो महिना पनि सुरु हुँदैछ। जाडोमा कोरोना झन् बढ्ने हो की भन्ने पनि छ। बजारमा भीडभाडमा किनमेल गर्न नजान र मासु पोलेर या काँचै नखान मेरो सुझाव छ। माछा–मासु राम्रोसँग मात्र पकाएर खानुपर्छ। दसैंमा आहारमा पनि ध्यान दिनुपर्छ। 

त्यसैले हामी आफ्नो परिवार र समुदायप्रति जिम्मेवार हुनुपर्छ। धार्मिक मर्म र संस्कृति नमर्ने गरी र रोगबाट बच्ने उपाय अपनाएर दसैं मनाउनु आवश्यक छ। स्रोत – स्वास्थ्य खवर

(डा बगाले बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड हुन्।)


प्रकाशित | ७ कार्तिक २०७७, शुक्रबार १३:१७