शेष घले पक्षलाई बाहिर राखेर एनआरएनए बलियो बन्न सक्दैन: कुमार पन्त (भिडियो)

काठमाडौं :  गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले डा. शेष घले पक्षलाई बाहिर राखेर एनआरएनए बलियो बन्न नसक्ने बताउनु भएको छ । विश्व सन्देशसँगको कुराकानीमा पन्तले कुनै पनि हालतमा घलेसहितको टिमलाई समाहित गराएर एकताबद्ध गर्न सके मात्र संस्था बलियो बन्ने बताउनु भयो ।

‘कुनै पनि हालतमा उहाँसहितको एनआरएनए भयो र उहाँलाई पनि यो अभियानमा समाहित गराएर एकताबद्ध भएर अगाडि बढेमा मात्र संस्था बलियो हुन्छ । त्यसको निम्ति वर्तमान नेतृत्व लागिरहेको छ भन्ने सूचना पनि प्राप्त गरेको छु । त्यसका लागि उहाँहरुलाई शुभकामना मिलोस भन्ने कामना गर्दछु’ , पन्तले भन्नुभयो ।

एनआरएनएको मुख्य उद्देश्य नै संसारभर रहेका गैर आवासीय नेपालीलाई एकताबद्ध गरेर गोलबद्ध शक्तीमार्फत नेपालको आर्थिक, सामाजीक रुपान्तरण तथा समृद्धिमा टेवा पुर्याउने भएकाले सबै एकजुट हुनुपर्ने खाँचो औल्याउनु भयो ।

‘मैले जहिल्यै भन्ने गरेको थिए एकता सबैभन्दा पहिलो कुरा हो भनेर । तर मेरै पालामा निर्वाचनसँग सम्बन्धीत विवाद निक्लियो । त्यो निर्वाचनसँग सम्बन्धीत भन्दा पनि भावी नेतृत्व सँग सम्बन्धीत विवाद थियो । त्यसमा मैले अनवरत कोसिस पनि गरे । सरकारसँग पनि निकै ठूलो वादविवाद भयो र सरकारले पनि पछि गैर आवासीय नेपाली संघलाई फुटाउनु हुन्न र टुक्राउनु हुन्न भनेर महसुस गरेको अन्तिम समयमा अनुभूत गरे र सोही अन्र्तगत एकताको महाधिवेशन भयो’, पन्तले भन्नुभयो ।


प्रकाशित | १९ माघ २०७९, बिहीबार २२:१३