संसारमा अहिले नातिनातिनीभन्दा बाजेबजै धेरै

इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको छ।

विश्व ब्याङ्कका अनुसार सन् १९६० मा एक महिलाले सरदर पाँच बच्चा जन्माउँथिन्। झन्डै ६० वर्षपछि अहिले त्यो आधामा पुगेको छ । अहिले एक महिलाको भागमा सरदर २.४ बच्चा पर्छन्। बीबीसीका अनुसार यसै समयावधिमा आर्थिक सामाजिक विकासका कारण यो संसारमा जन्मने मानिसहरूले निकै फाइदा पाएका छन्। सन् १९६० मा मानिसहरूको औसत उमेर ५२ वर्ष भन्दा केही बढी थियो जबकि सन् २०१७ मा त्यो औसत उमेर ७२ वर्ष पुगेको छ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १४:५५