पूर्वी भेगको नन्दीकेश्वर महादेवको महत्व बारे प्रचार गर्न आवश्यक छ : बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पूर्वी भेगको नन्दीकेश्वर महादेवको महत्व बारे प्रचार गर्न आवश्यक  रहेकोमा जोड दिनु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ९, नंखेलको नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको चौथो वार्षिक साधारणको उद्घाटन गर्नुहुँदै मेयर थापाले निकै प्रचलीत धार्मिक तिर्थस्थल नन्दीकेश्वर महादेवको महत्व बारे विस्तारै प्रचार गर्दै ठूलो मेलाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको हो ।

नन्दीकेश्वर महादेव सूर्यविनायकको धेरै पुरानो मन्दिर भएको बताउनुहुँदै मेयर थापाले मन्दिरको निर्माण छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । पूर्वी भेगको नन्दीकेश्वर महादेव, आसापुरेश्वर महादेव र डोलेश्वर महादेव जस्तै महत्वपूर्ण भएकोले यसलाई धेरै राम्रो र ब्यवस्थित ढंगले विकास गर्नुपर्नेमा मेयर थापाको जोड छ ।

यस्तो कलात्मक किसिमको मन्दिर कमै रहेको बताउँदै मेयर थापाले लिच्छवीकालीन मन्दिर भएकाले यसलाई सबैले आफ्नो दायित्व सम्झेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यसअघि विविध कारणले निर्माणमा ढिलाई भएको गुनासो आए पनि अब ढिलाई गर्न नहुने उहाँले बताउनुभयो । मन्दिर असारसम्ममा सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो भन्दा पहिल्यै सम्पन्न गराएर भब्यताका साथ उद्घाटनमा लाग्न आग्रह समेत गर्नुभयो ।

मेयर थापाले दोस्रो कार्यकालमा आफू निर्वाचीत भएर आएपछि अधुरा काम पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । ‘म लगायत सम्पूर्ण टिम नगरपालिकाका अधुरा योजना पूरा गर्न लागिपर्नेछौ । करलाई सही सदुप्रयोग गर्नेछौ । हामी मिलेर नै नगरपालिका राम्रो बनाउनेछौ । ‘राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यवद्धता’ नारा लिएर हामी अगाडि बढेका छौ । सबै एकजुट भएर बस्नलायक सफा हराबरा बनाउन लाग्नेछौ । तपाईको साथ सहयोग सदैव हुनेछ भन्नेमा विश्वस्त छौ । यहाँको विकासको लागि कुनै कन्जुस्याइँ गर्नेछैनौ’, मेयर थापाले भन्नुभयो ।


प्रकाशित | २३ पुष २०७९, शनिबार २१:१३