६४ वर्षपछि सगरमाथाको उचाइ नाप्न टुप्पोमा जाँदै सरकारी टोली

काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिनुभयो ।

चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानुहनेछ । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसक्नु भएको छ । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिनुभयो । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’ यो समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेख्नुभएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०७:४७