सूर्यविनायक नगरपालिकाले गर्‍यो भू–उपयोग क्षेत्रको वर्गीकरण

भक्तपुर -सूर्यविनायक नगरपालिकाले जमिनको वर्गीकरण गरेको छ ।

नगरपालिकाले संघीय सरकारले जारी गरेको भू–उपयोग ऐन २०७६ तथा भू उपयोग नियमावली २०७९ मा भएको व्यवस्था बमोजिम जमिनको वर्गीकरण गरेको जनाएको छ ।

संघीय सरकारले कृषि र गैरकृषि जमिन छुट्याउन देशभरका ७५३ वटै पालिकाहरुलाई परिपत्र गरेसँगै सूर्यविनायक नगरपालिकाले सम्बन्धित क्षेत्रका विज्ञ र परामर्शदाताहरुको सहयोगमा जग्गा वर्गीकरण गरेको हो ।

यसबीच नगरपालिकाले क, ख, ग र घ गरी चार वर्गमा सडक÷बाटोको समेत बर्गीकरण गरेको छ । जसनुसार क वर्गमा १४ मिटर वा सो भन्दा बढी चौडाई भएको सडकलाई लिइएको छ । ख वर्गमा १० मिटरदेखि १४ मिटरसम्म चौडाई भएका सडक, ग वर्गमा ६ मिटरदेखि १० मिटर चौडाई र घ वर्गमा ६ मिटरभन्दा कम चौडाई भएका सडक रहने जनाएको छ ।

नगरपालिकाले सडक र बाटोलाई आधार बनाई व्यावसायिक र आवासीय क्षेत्रको वर्गीकरण गरेको छ । जसअनुसार क वर्गको सडकको १०० मिटर दायाँ बायाँसम्मलाई व्यावसायिक र सो भन्दा पछाडि १ सय ५० मिटरसम्मको दायाँ बायाँलाई आवासीय क्षेत्र घोषणा गरिएको छ । त्यसैगरी ख वर्गको सडकको ५० मिटर दायाँ बायाँसम्म व्यावसायिक र सो भन्दा पछाडि ७५ मिटरसम्मको दायाँ बायाँसम्मलाई आवासीय क्षेत्र भनिएको छ । ग वर्ग र घ वर्ग सडक भएको क्षेत्रलाई समेत व्यावसायिक र आवासीय क्षेत्र छुट्याइएको छ ।

त्यसैगरी राष्ट्रिय महत्वका प्राकृत्तिक तथा भौतिक सम्पदा, अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक एवं सांस्कृतिक महत्वका स्थानहरु, शैक्षिक तथा स्वास्थ्य संस्था, सडक, कुलो, नहर, पर्यटन, औद्योगिक तथा सार्वजनिक उपयोगमा प्रयोग हुने अस्पताल, रंगशाला, कभर्डहल लगायतका ठुला पूर्वाधार तथा संरचनाहरुका लागि भने गैर कृषि उपयोग जमिन आवश्यकताको आधारमा प्रयोग गरिने जनाएको छ ।

खेतीयोग्य जमिन १० प्रतिशत मात्र
नगरपालिकाको प्रारम्भिक तथ्यांक अनुसार सूर्यविनायक नगरपालिकाभित्र १० प्रतिशत भू–भाग मात्र कृषि क्षेत्र रहेको छ । शुक्रबार नगर कार्यपालिकाको कार्यालयमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नगरपालिका प्रवक्ता रविन्द्र सापकाटोले नगरपालिकाभित्र १० प्रतिशतमात्र कृषियोग्य जमिन रहेको बताउनुभयो ।

उहाँले कृषि योग्य जमिन घट्नुको कारण बढ्दो शहरीकरण मात्र नभएर कृृषक प्रति राज्यको अनुदार नीति समेत जिम्मेवार रहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘यस नगरपालिकामा अभिलेख भएको भन्दा कृषि जमिन बढी छ तर, राज्यले कृषियोग्य जमिन संरक्षणका लागि आकर्षक नीति अवलम्बन गर्न नसक्दा नगरबासीहरु कृषि जमिनका रुपमा आफ्नो भूमिलाई दर्ता गर्न अनिच्छुक भए ।’

उत्पादन कम हुँदा बजार मूल्य आकाशिएको छ । आम मानिसको दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थको मूल्यमा अत्याधिक बृद्धि भईरहेको छ । यो क्रम रोक्नका लागि स्वदेशमै उत्पादन बढाउनुपर्दछ । नेपाल सरकारको उदेश्य पनि त्यही हो तर, उत्पादन गर्ने कृषकहरुप्रति भने सरकारको नीति अनुदार छ ।

कृषकहरुले समयमै विऊ, मल पाउन सक्दैनन् । प्राकृत्तिक प्रकोपलगायत कारणले बालीनाली नष्ट भएको बेला क्षतिपूर्ति पाउँदैनन् ।

सोही कारण पनि कृषि क्षेत्रमा आकर्षण घट्दै गईरहेको छ । यसबीच, सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रमा आकर्षित गर्ने गरी विभिन्न प्याकेजका कार्यक्रम ल्याउने जनाएको छ ।

जमिन वर्गीकरणका आधारहरु

सूर्य विनायक नगरपालिकाले १० आधारमा रहेर जमिनको वर्गीकरण गरेको जनाएको छ । नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार विद्यमान भू–उपयोगको अवस्था, सडक÷बाटोको पहँुच र सो को वर्गीकरण ९चौडाईको आधारमा० जमिनको वर्गीकरण गरिएको जनाएको छ ।

त्यसैगरी सामाजिक तथा आर्थिक पूर्वाधारका वितरण, शहरी विकास योजना÷आयोजना, नियमावलीको नियम ४ बमोजिम नापी विभागबाट प्राप्त भू उपयोग नक्सा, कृषि उत्पादन र उत्पादकत्वको अवस्था, भू बनौट र वातावरण तथा विपद् सम्वेदनशिलता, औद्योगिक ग्राम÷क्षेत्र, अस्पताल, रंगशाला, कभर्डहललगायत ठुला पूर्वाधार विकास योजना, पर्यटन लगायत उपक्षेत्रगत विकास योजना÷आयोजना र स्थानीय माग र आवश्यकताको आधारमा जग्गाको वर्गीकरण गरेको हो ।

साथै नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी विस्तृत प्रतिवेदन तथा भू–उपयोग नक्सा छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।

यस्तो छ नगरपालीकाले जारी गरेको बिज्ञप्ती


प्रकाशित | २५ मंसिर २०७९, आईतवार १०:४३