आज बैतेश्वर र तामाकोशीका १० वटा केन्द्रमा पुन: मतदान, मतदानस्थलसम्म आउने र घरसम्म फर्कनेका लागि सुरक्षासहितको व्यवस्था

सुरक्षा व्यवस्था कडा, १४ सय सुरक्षाकर्मी परिचालन, गाउँ नै सिल गरेर बाहिरका मान्छेलाई हिँडडुलमा प्रतिबन्ध

चरिकोट:  दोलखामा आज बिहीबार बुथ कब्जा भएका ठाउँमा पुन:मतदान हुँदैछ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका मतदान केन्द्रमा हुन गइरहेको पुन मतदानमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज वडाहरू सिल गरेर बाहिरका मान्छेलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । मतदान गर्न आउने र मतदानपछि फर्कने मतदातालाई जनपद सशस्त्र र नेपाली सेनाले सुरक्षासहित घरसम्म फर्कने व्यवस्था गरिएको छ ।

त्यस्तै, तामाकोसी र बैत्यश्वर गाउँपालिकामा पर्ने राजमार्गसहित ग्रामीण सडकमा सवारीसाधन समेत बन्द गरिएको छ । ग्रामीण सडकमा नेपाली सेनासहित जनपद र सशस्त्र प्रहरीले गस्ती गरिरहेका छन् । मतदानका लागि १० जना मतदान अधिकृतसहित ८८ जना कर्मचारी खटाइएको छ भने १४ सय सुरक्षाकर्मी खटाइएको छ ।

यी मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । केन्द्रका मतदातालाई भयरहित वातावरण बनाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ ।

बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा आज पुनःमतदान हुन लागेको हो ।


प्रकाशित | १५ मंसिर २०७९, बिहीबार ०६:५९