दोलखाको पुन: मतदानमा डर त्रास देखाउनेलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन

दोलखा : दोलखाको पुन: निर्वाचनमा मतदातालाई आंतकीत बनाउने कार्य भएमा तत्काल प्रक्राउ गरि कारवाही गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगको अनुरोधमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिर्दै निर्वाचनमा डर त्रास देखाउनेलाई तत्काल प्रक्राउ गरि कारवाही गर्न भनीएको हो ।

दोलखाका पुनः मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिइ सुरक्षा व्यवस्था सुनिश्चित गर्न भनीएको हो ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्राश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइसकिएको छ ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पनि पुन निर्वाचनमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा ब्यवस्था कडा बनाइने बताउनुभएको छ ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा पर्सी बिहीबार पुन:मतदान हुन लागेको हो ।


प्रकाशित | १३ मंसिर २०७९, मंगलवार १७:४२