महिला भलिबलमा भारतसंग भिड्दै नेपाल

काठमाडौं: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको वास्तविक परिक्षा बिहिबार हुनेछ ।

भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । समूह चरणको अन्तिम खेलको नतिजाले नेपालको उपाधि सम्भावनाबारे धेरै कुरा बोल्नेछ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । भारत बिहिबार आफ्नो पहिलो खेल खेल्दैछ ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए । सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो ।

भारत र माल्दिभ्स दक्षिण एसियामा महिला भलिबलमा राम्रा टिम मानिन्छन् । सोही कारण नेपालले साग क्षेत्रमा सधै कास्यमै चित्त बुझाउनु पर्दै आएको छ ।


प्रकाशित | १२ मंसिर २०७६, बिहीबार १३:००