काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म, शुक्रबारदेखि सुधार आउँने

काठमाडौं – आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ ।

दिउँसो पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ ।

त्यस्तै, तत्काल काठमाण्डौको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने तर अहिले त्यस्तो नदेखिएको मौसमविद्ले बताएका हुन ।


प्रकाशित | १६ चैत्र २०७८, बुधबार ०८:१७