एमालेको जनलहर देखेर दोलखामा गठबन्धनका उम्मेदवारहरू अत्तालिन थाले: पार्वत गुरुङ

दोलखा : नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले एमालेको जनलहर देखेर दोलखामा गठबन्धनका उम्मेदवारहरू अत्तालिन थालेको बताउनु भएको छ । उहाँले निर्वाचनको मिति नजिकिदै जाँदा एमालेको जनलहर देखेर दोलखामा गठबन्धनका उम्मेदवारहरू अत्तालिन थालेको बताउनुभएको हो ।

‘पाँच पार्टी मिलेपछि एमालेलाई सोझै परास्त गर्न सकिन्छ भन्ने मनोविज्ञानले काम नगरेपछि अहिले उहाँहरू बुथ कब्जा गर्ने, जनता धम्क्याउने र तर्साउने योजनाको तानाबुना बनाउँदै छन् यस्तो पराजित मानसिकता बोकेकाहरुलाई जनमतबाटै एमालेले जवाफ दिँदैछ’ उहाँले भन्नुभयो, ‘यो २१औँ सताब्दीमा पनि बुथ कब्जा गर्ने, जनता लखेट्ने, जनतालाई धम्क्याउने अनि जनतालाई तर्साउने गतिविधि हुन्छ भने त्यो राजनीति होइन, आतंककारी क्रियाकलाप हो, यस्तो आतंककारी काम गरेर जोरी खोज्नेहरुलाई जनताकै तहबाट एमालेले यस पटक गतिलो जवाफ दिन्छ ।’

४ मंसिरको निर्वाचनमा दोलखाका कुनै पनि मतदान केन्द्र कब्जा गर्न नदिइने पनि चेतावनी दिनुभयो । ‘बन्दुक बोकेर, जंगल–जंगलमा दिनदहाडै निहत्था जनताको घाँटी रेटेर, हत्या र हिंसा गरेर राजनीतिको खोल ओढेर फेरि दोलखामा २०७४ को जस्तो व्यक्ति हत्या गरेर चुनाव जित्ने योजना र सपनामा उहाँहरू देखिनुहुन्छ, तर त्यो सपना यो पटक एमालेले कदापि पूरा हुन दिँदैन’ मेलुङमा आयोजित चुनावी आमसभामा गुरुङले भन्नुभयो, ‘हामी दोलखाका प्रमुख नेताहरू आनन्द पोखरेल, ईश्वर चन्द्र पोखरेल र पार्वत गुरुङललगायत सबै नेताहरू आफै बुथमा खट्छौँ । तामाकोशीको बुथमा बस्छौँ । जहाँ बुथ कब्जा गर्छौं भनेर गठबन्धनका उम्मेदवारहरूले हल्ला फिजाएका छन्, त्यो बुथको सुरक्षा हामी जसरी पनि गरेरै छोड्छौँ, बेलैमा चेतना होस्, हामी यस पटक दोलखामा कतै पनि बुथ कब्जा गर्न दिनेछैनौँ ।’


प्रकाशित | २६ कार्तिक २०७९, शनिबार १७:०८