संकटको बेलामा खरो रुपमा उत्रीएर एनआरएनले आफनो औचीत्यता पुष्टि गर्‍यो : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपाली संघले कोभिड १९ मा खेलेको भूमीका प्रशंसायोग्य रहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले कोभिड महामारीमा एनआरएनले बलियो उपस्थिती देखाएर संघले आफनो औचीत्यता पुष्टि गरेको बताउनुभयो । ‘संकटको बेलामा पनि खरो रुपमा उत्रीएर संघले आफनो औचीत्यता पुष्टि गर्‍यो’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रतिकुलताकाबीच पनि नेपालको आर्थिक, विकासमा एनआरएनएले महत्वपूर्ण भूमीका निर्वाह गरेको छ ।’

गैर आवासीय नेपाली संघको विशेष महाधिवेशन उद्घाटनको क्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाली समाजमा देखिने आपसी विवाद र असहमति जस्ता बिषयहरु विदेशमा रहेका नेपालीमा पनि देखिने गरेको बताउँदै नेपालको विषयमा त्यती धेरै चिन्तित नहुन पनि आग्रह गर्नुभयो । । विदेशमा रहेका नेपालीलाई नेपालको भविष्यलाई लिएर चिन्तित नहुन आग्रह गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘नेपालमा विभाजित भएजस्तै तपाईहरु विभाजित नहुनुहोस देश विकासका लागि सहयात्री हुन सके देशका लागि ठूलो योगदान हुनेछ । तपाईहरुको सफलता नै नेपालको सफलता हो,देशको पनि उचाइ बढ्नु हो ।’

मन्त्री ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै भन्नुभयो, ‘निर्वाचनमा जानु भनेको जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको हो‘ हाम्रो लोकतन्त्र संस्थागत हुने प्रक्रियामा छ,जनता निर्णायक र सर्वोपरी बन्न नसकेकोले अहिले फेरी जनताले नै आफ्नो फैसला गर्ने स्थिती आएको छ ।’

संसार ग्लोबलाइजेशनमा गइरहेको र संसारभर रहेका नेपालीमा पनि यसको प्रभाव परेको बताउँदै मन्त्री ज्ञवालीले सँसगैं पहिचान जोगाउने कुरा पनि उत्तिकै चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘नेपालको विकासमा गैरआवासीय नेपालीलाई सहयात्री बनाएर हामी अघि बढ्न चाहन्छौंँ,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘ नेपालको समग्र विकासमा विदेशमा रहेका नेपालीले एक्लाएक्लै लगानी गरीरहेको भए पनि सामुहिक रुपमा लगानी गर्न सके त्यसले अझै राम्रो परिणाम दिन सक्छ ।’ ज्ञवालीले नेपाल सरकारको तर्फबाट पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धी ऐन निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको बताउनुभयो ।


प्रकाशित | १० माघ २०७७, शनिबार १७:३७