उत्तरी क्षेत्रका सबै सडक कालोपत्र गर्ने अभियान चलाइनेछ :उम्मेदवार शिबाकोटी

दोलखा -नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटीले दोलखाको उत्तरी मुकाम सिङ्गटीदेखि उत्तरका सबै ग्रामीण सडक कालोपत्र गर्ने अभियान चलाइने बताएका छन् ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा शनिबार जिल्लाको बिगु गाउँपालिका–६ आलाम्पु पुगेका उम्मेदवार शिबाकोटीले नेकपा एमालेको नेतृत्वमा बनाइएका सबै कच्ची सडकहरूलाई पक्की बनाउने अभियान नै सञ्चालन गरिने बताएका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा जिल्लामा विकासको रफ्तार बढ्ने उनको भनाइ छ ।

‘एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा केन्द्र र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्छ । एमालेको सरकार बन्यो भने मात्रै दोलखाको विकास निर्माणका कामलाई पूर्णता दिन र नयाँ कामको थालनी गर्न सकिन्छ,’ उम्मेदवार शिबाकोटीले भने, ‘एमालेले केन्द्रदेखि वडासम्मै ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियान सुरू गरिसकेको छ । यो विकास र समृद्धिको अभियान हो, यसलाई अगाडि बढाउन तपाइँहरूको साथको खाँचो हामीलाई छ ।’

एमालेको उम्मेदवार अपरिचित र विगतका सांसदले केही गरेनन् भन्ने आरोपमा सत्यता नभएको पनि शिबाकोटीले बताएका छन् । एमालेकै सांसदहरूको नेतृत्वमा दोलखाको समग्र विकास भएको दाबी गर्दै उनले पार्टी राजनीति र विकासको गतिविधिमा नवीन सोच स्थापित गर्दै पुस्तान्तरणका निम्ती एमालेले युवालाई अगाडि सारेर सत्ता सुम्पिने निर्णय गरेको स्पष्ट पारेका छन् ।

‘तपाइँहरू पार्टीको उम्मेदवारसँग परिचित भए पनि नभए पनि एमालेको सूर्य चिह्नसँग तपाइँहरू परिचित हुनुहुन्छ । सूर्य चिह्न लिएर चुनाव उठ्नुभएका र जित्नुभएका सांसदज्यूहरूले नै अहिलेसम्म दोलखाको विकासको काम गर्दै आउनुभएको हो,’ उममेदवार शिबाकोटीले अगाडि भने, ‘दोलखादेखि सिंगटीसम्म सडकको ट्रयाक खोल्ने काम तत्कालीन सांसद आनन्द पोखरेलको पालामा भएको हो । त्यस्तै सिंगटीदेखि बिगु गाउँपालिकाका विभिन्न वडाहरूसम्म जोडिएका सडक सञ्जाल निर्माणमा पनि एमालेकै नेता र सांसदहरूको भूमिका छ । यसको स्तरोन्नति, ग्राभेल र कालोपत्रका लागि पनि तपाइँहरूले यो पटक सूर्यमै भोट हाल्नुपर्ने छ, हामी अभियानकै रूपमा योग्य सडकमा कालोपत्रको काम अगाडि बढाउँछौँ ।’
देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अगुवाइ गरेको पार्टी समेत नेकपा एमाले भएको बताउँदै उनले सुनखानी–साङ्बा चक्रपथ बनाउने, सोरुङखोलाबाट खोपाचागु तर्ने पक्की पुल बनाउने, गाउँ–गाउँमा केन्द्रीय प्रशारणको विद्युत् पुर्याउनेलगायत कामहरूको नेतृत्व अहिलेसम्म एमालेकै सांसदहरूले गरिरहेको बताएका छन् । अझ धेरै कामहरूलाई पूर्णता दिन बाँकी रहेकाले दोलखामा एमालेकै नेतृत्व आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन् ।

साथै उनले समाजमा व्याप्त वर्गीय विभेद अन्त्यका लागि पनि हाफूले भूमिका निर्वाह गर्ने बताएका छन् । दोलखाका विभिन्न गाउँठाउँमा अझै पनि विभेदको अवस्था कायम रहेको भन्दै उनले विद्यमान वर्गीय र जातीय विभेद अन्त्य गर्न पनि प्रयास गरिने बताएका हुन् ।

दोलखाको तीव्र विकास र जनजीवीकाको स्तर बढाउन प्रतिनिधिसभा र प्रदेश सभाका तीनै जना एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने शिबाकोटीको भनाइ छ ।


प्रकाशित | १२ कार्तिक २०७९, शनिबार १९:२०