एनआरएनए यूके अध्यक्षमा खड्का र उपाध्यक्षमा श्रेष्ठ चयन

लन्डन:  गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा सुनिलबाबु खड्का चुनीनु भएको छ । मंगलबार सम्पन्न विशेष अधिवेशनले यसअघि उपाध्यक्ष रहनु भएको खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले पदमुक्त गरेपछि कार्यसमितिको बहुमत पक्षले विशेष अधिवेशन गरी अध्यक्ष चुनेको हो । खड्का अध्यक्ष भएसंगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत रुपमा दीपक श्रेष्ठलाई चयन गरेको छ।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष श्रेष्ठ गत निर्वाचनमा एनआरएनए यूके अध्यक्ष पदमा दोस्रो बढी मत पाउने प्रत्यासी पनि हुनुहुन्थ्यो । साथै त्यसभन्दा अघि उहँँले एनआरएनए यूके कोषाध्यक्षका रुपमा पनि एक कार्यकाल काम गरिसक्नु भएको छ ।

त्यस्तै, अधिवेशनले ह्यान्सन गौचन, तिलक भट्टराई र समिर भट्टराईलाई सदस्यमा चयन गरेको छ। अधिवेशनमा कोषाध्यक्ष विष्णु खरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ।


प्रकाशित | २ कार्तिक २०७९, बुधबार २१:०८