मुलुकमा विकास र समृद्धिको युगको आरम्भ: मुख्यमन्त्री पौडेल (पूर्णपाठसहित )

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा विकास र समृद्धिको युगको आरम्भ भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, नेपालको संविधानले व्यबस्था गरेबमोजिम तीनवटै तहका सरकार गठन भई क्रियाशील रहेका छन । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामू गरेका प्रतिबद्धताहरु नीति, योजना र कार्यक्रम तर्जुमामा केन्द्रित गरिएका छन् । जनतामा नवीन आशा र उत्साहको सिर्जना भएको छ ।

उहाँले भन्नुभएको छ, नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको छ । विगतमा हामी कहाँ, कस्तो अवस्थामा थियौं, त्यसतर्फ प्रवेश गर्न चाहान्न, त्यसको हामी सबैले महसुस गरेका छौं । यस्तो छ मुख्यमन्त्री पौडेलको गणतन्त्र दिवसको अवसरमा आयोजित शुभकामना सन्देश;-

माननीय प्रदेश प्रमुख ज्यू,

माननीय, प्रदेश सभाका सभामुखज्यू, माननीयय प्रदेश सरकारका मन्त्रीज्यूहरु, माननीय प्रदेश सभाका सदस्यहरु, नागरिक समाजका अगुवाहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवम् उपस्थित सम्पूर्ण महानुभावमा हार्दिक अभिवादन !

यतिबेला हामी नेपाली जनताको अथक संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै यहाँ उपस्थित भएका छौं । वि.सं २००७ मा राणा शासनको अन्त्यका लागि शुरु भएको आन्दोलनदेखि निरङकुश पञ्चायती ब्यवस्था विरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि आजसम्म भएका जनताको हरेक आन्दोलनको समष्टिरुप गणतन्त्र हो ।

आजको यस पुनीत अवसरमा राणा शासनको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञान अज्ञात शहिदहरुप्रति हार्दिक श्रदासुमन एवम् सम्मान ब्यक्त गर्न चाहान्छु । साथै, हामी सबैको तर्फबाट ती महान् शहीदहरुले देखाउनुभएको बाटोमा अविराम अविचलित रुपमा लाग्ने सङ्कल्प गर्दै आफ्ना भनाइहरु राख्न चाहान्छु ।

आज गणतन्त्र दिवसको अवसरमा यहाँ उपस्थित भइ रहँदा हाम्रा सामु अनेकन अवसर र चुनौतिहरु छन् । लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य भएको छ । नेपालको संविधानले व्यबस्था गरेबमोजिम तीनवटै तहका सरकार गठन भई क्रियाशील रहेका छन् । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामू गरेका प्रतिबद्धताहरु नीति, योजना र कार्यक्रम तर्जुमामा केन्द्रित गरिएका छन् । जनतामा नवीन आशा र उत्साहको सिर्जना भएको छ । नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको छ । विगतमा हामी कहाँ, कस्तो अवस्थामा थियौं, त्यसतर्फ प्रवेश गर्न चाहान्न, त्यसको हामी सबैले महसुस गरेका छौं । गत विगतका कार्य व्यवहारमा कोही कसैप्रति आरोपित गर्न वा आक्षेप लगाउन भन्दा विगतको सन्दर्भबाट शिक्षा लिदैं उज्यालो भविष्य निर्माण गर्ने दायित्व र अवसर हाम्रो सामुन्ने छन् । यस अवसरमा देश र नागरिकप्रतिको दायित्व पूरा गर्न प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।
भ्रष्टाचारप्रतिको शून्य सहनशिलता, योजना कार्यान्वयमा चुस्तता, सबै तहका राष्ट्रसेवक कर्मचारीहरुको कार्यसम्पादन सम्झौता र सोहि अनुसार मुल्याङकन पद्धति, प्रशासनिक कार्यहरुमा हुने ढिलासुूस्तीको अन्त्य, प्रविधिको उच्चतम उपयोग, जनतामा सामाजिक सुरक्षाको प्रत्याभूति, कानुनी तथा नीतिगत स्पष्टता, उद्योग एवम् लगानी मैत्री वातावरणको निर्माण, वैज्ञानिक भूउपयोग नीति लगायतका विषयहरुलाई उच्चतम प्राथमिकता दिदैं प्रदेश सरकार अघि बढेको छ । शून्य अवस्थाबाट कार्यालय एवम् कर्मचारी ब्यवस्थापन, ऐन कानुनको प्रबन्ध गर्दै एकवर्षको समयमा प्रदेश नं ३ सरकारले जे–जस्ता योजना र कार्यक्रमहरु अघि सारेको छ यसबाट प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरेको छु । सम्पादन गर्नुपर्ने कार्यहरु थुप्रै छन् । हामीसंग योजना र प्रतिबद्धता दुबै छन् । हातमा सीप र पाखुरीमा बल भरिएका हजारौं युवाहरुलाई राष्ट्र निर्माणको महा अभियानमा जोड्न सकिए “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको राष्ट्रिय संकल्प पुरा गर्न सकिन्छ । अब हामीले अधिकारको लड्नुपर्ने अवस्था छैन, त्यसैले अहिलेको हाम्रो महत्वपुर्ण कार्यभार नै विकास र समृद्धि हो भन्नेमा कुनै दुईमत छैन । आजको परिवर्तनका लागि थुप्रै जनताले रगत बगाएका छन् । यो देशलाई अविकास, पछौटेपन र गरिवीको दुष्चक्रबाट उन्मुक्त बनाउदै स्वाधीन, समुन्नत र समृद्ध देशको रुपमा स्थापित गर्न अबको पुस्ताले रगत बगाउनुपर्दैन । श्रम र पसिना बगाए मात्र पुग्छ । हामी जहाँ छौं, त्यहि इमान्दार प्रयत्न गरे पुग्छ । आलोचना, कुण्ठा, निन्दा र नकारात्मक सोचबाट होइन, सकारात्मक सोच, इमान्दारपूर्ण लगाव, धैर्यता र सिर्जनशिलताबाट मात्र देशलाई बनाउन सकिन्छ ।

गणतन्त्र दिवस, २०७६ को अवसरमा समृद्धिको राष्ट्रिय संकल्प पुरा गर्न हामी सबैमा सकारात्मक सोच, उर्जा र उत्साह जागोस्, हामी सबैले अ–आफ्नो ठाँउबाट ईमान्दार प्रयत्न गरौं भन्ने आव्हान सहित अब रगत होईन, देशले श्रम र पसिना खोजेको छ । सही योजना निर्माण र व्यवहारिक रुपमा योजना कार्यान्वयनको दृढता खोजेको छ । को सत्तापक्ष, को प्रतिपक्ष ? पार्टी, जातजाति, धर्म, सम्प्रदायभन्दा माथि उठेर समृद्धिको अभियानमा हामी सबैको एकिकृत प्रयत्न खोजेको छ । यसका लागि हामी सबैलाई सफलता मिलोस् । हार्दिक शुभकामना सहित पुनः गणतन्त्रसम्म आइपुग्दा यो देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पुर्ण शहिदहरुप्रति हार्दिक शब्द श्रदाञ्जली एवम् सम्मान ब्यक्त गर्दछु ।

धन्यवाद


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ११:३६