अष्ट्रेलियाले युक्रेनलाई सैन्य सहयोग बढाउने

सिड्नी – अस्ट्रेलियाले युक्रेनलाई रुसी सेनासँग लड्न सैन्य सहयोग बढाउने भएको छ । अस्ट्रेलियाले युक्रेनलाई रुसँग लड्न हतियार आपूर्तिमा आर्थिक सहयोग गर्ने जनाएको हो ।

प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय घोषणा गर्नु अघि आइतबार बिहान सिड्नीको एक चर्चमा युक्रेनी अस्ट्रेलियालीहरूसँग सहभागि हुनु भएको थियो ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाली सरकारले सधै सत्य र न्यायको पक्षमा उभिने बताउँदै भन्नु भयो, ‘हामी हाम्रा नेटो साझेदारहरू विशेष गरी संयुक्त राज्य अमेरिका र बेलायत मार्फत घातक सहायताको लागि हामीले सक्ने जस्तोसुकै सहयोग उपलब्ध गराउने प्रयास गर्नेछौ ।’

अष्ट्रेलियाको योगदानले अमेरिका, बेलायत र अन्य नेटो सहयोगीहरूले युक्रेनलाई पहिले नै आपूर्ति गरिसकेका हतियार र गोला बारुदको मात्रामा थप सहयोग पुग्ने जनाइएको छ ।

त्यस्तै, आफ्नो नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै जर्मनीले पनि अब युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको छ । चान्सलर ओलाफ सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिनु भयो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १२:१३