बाबुराम र उपेन्द्रको नयाँ ‘समाजवादी पार्टी, नेपाल’ घोषणा आज

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक एकता घोषणा हुँदैछ । नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आज नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष एक कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने जनाएका हुन् ।

नयाँ पार्टीमा डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन् । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो। पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्। दुई पार्टीबीच लामो समयदेखि भएको छलफलपछि एकीकरण हुन लागेको हो ।

समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विज्ञप्तिमा उल्लेख छ। संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन्


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०७:५७