साग महिला भलिबल : नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

भारत विजयी भएपछि समूह ‘ए’ मा रहेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो । दुई खेल जितेको भारत ४ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । भारतसँग भने नेपाल ३-० को सोझो सेटमै पराजित भएको थियो ।  अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने छ ।


प्रकाशित | १३ मंसिर २०७६, शुक्रबार १७:१२