सूर्यविनायक नगरपालिकामा जरिबाना छुटसहितको ब्यवसाय दर्ता अभियान शूरु

भक्तपुर : सूर्यविनायक नगरपालिकाले जरिबाना छुटसहितको ब्यवसाय दर्ता अभियान शुरु गरेको छ । यो अभियान  असोज १ गतेदेखि पुष मसान्तसम्म जारी रहने नगर प्रमुख बासुदेव थापाले बताउनु भयो ।

ब्यवसाय दर्ता अभियान सम्बन्धमा ब्यापक प्रचार प्रसार गर्ने, प्रत्येक वडा कार्यालयबाट आधिकारिक रुपमा दर्ता हुन आउन आह्वान सहितको सूचना जारी हुने र नगरपालिकामा सञ्चालीत प्रत्येक ब्यवसायीक सम्म नगरपालिकाको कर्मचारी पुग्ने र उक्त ब्यवसायलाई दर्ता हुन आउनको लागि पत्र बुझाइने प्रमुख थापाले बताउनु भयो ।

नगरपालिकाका उपमेयर सरिता तिमिल्सिना भट्टराईले राजस्व परामर्श समितिको सुझाव अनुसार नगर कार्यापालिका बैठकले जरिबाना छुटसहितको ब्यवसाय दर्ता अभियान शुरु गर्ने निर्णय गरेको बताउनु भयो । आज शनिबार परेकाले यो अभियान औपचारिक रुपमा भोलि बालकोट वडा नं. २ बाट शूरु गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो ।

नगरपालिकाले पाँच लाख भन्दा कम पूँजी भएका ब्यक्तीहरुलाई वडा कार्यालयमा नै दर्ता हुने ब्यवस्था गरेको छ भने पाँच लाख भन्दा बढी पूँजी भएको ब्यवसायहरुको हकमा तोकिएको ढाँचा बमोजीमको निवेदन, निवेदकको नागरिकताका प्रतिलिपी, पासपोर्ट साईटको फोटो दुई प्रति, अन्य निकायमा ब्यवसाय दर्ता गरेको भए सोको दर्ता प्रमाणपत्रको प्रतिलिपी, प्यान/भ्याट दर्ता गरेको भए सोको प्रमाणपत्र प्रतिलिपी , पसल, ब्यवसाय भाडा बसेको भएमा घर भाडाको सम्झौता र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी आवश्यक पर्नेछ ।

त्यस्तै, ब्यवसाय दर्ताको लागि राजस्व रकम पाँच लाखसम्म पूँजी भएको ब्यवसाय वडा कार्यालयमा नै दर्ता गर्ने र सो भन्दा बढी पूँजी भएको ब्यवसायको हकमा सम्बन्धीत वडा कार्यालयको सिफारिस र वातावरणीय हिसावले जोखिम हुन सक्ने ब्यवसायहरुको हकमा वडा कार्यालयहरुको रोहवरमा  मुचुल्का उठाइनेछ ।

नगरपालिकाका सूचना अधिकारी अनीरुद्र नेपालका अनुसार एक पटकको लागि जरिबाना छुटको प्रावधान सहित ब्यवसाय दर्ता अभियान सञ्चालन गरिनेछ । यो अभियान अन्तर्गत नगरपालिकाको लिखित पत्र प्रत्येक ब्यवसायी सम्म पुग्नेछ । त्यसरी नगरपालिका स्वयंम ब्यवसायमा पुगेर अनुरोध दर्ता समेत अटेर गरि ब्यवसाय दर्ता नगर्ने ब्यवसायीहरुलाई तत्काल कानुन बमोजीम कारवाही गरिनेछ ।


प्रकाशित | १ आश्विन २०७९, शनिबार ०९:४५