ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवाद : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना, उहाँमा रहेको मूल पक्ष इमान्दार कार्यकर्ता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यसो हुनाले यि सबै चिजले समस्या खडा ग¥यो । हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईले स्वार्थसिद्धीको साधन बनाउनुभयो, त्यो काम नगर्नुस् ।

उहाँले थप्दै भन्नुभयो -‘पार्टी र कार्यदिशाको उल्लंघन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस् । जबजले तपाईले थातिमा राख्नुभयो । जबज सिध्याउने काम तपाईले गर्नुभयो । तपाईले समाजवाद उन्मुख जनताको जनवाद मान्नुभयो तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईले त्यो थोपर्ने काम गर्नुभो । आज तपाई जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफुलाई प्रस्तुत गर्नुहुन्छ । तपाई आज आएर मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाइहरु कोही नपर्नु होला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाइ छ । ओलीमा नेकपा (एमाले) को नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि शुरु देखिँनै गुटगत प्रवृत्ति मात्रै भएको उहाँले बताउनुभयो ।


प्रकाशित | ४ चैत्र २०७७, बुधबार १९:३८