दोलखाको कालिन्चोक र शैलुङका मतदान केन्द्रमा पनि पुन: निर्वाचन गर्न एमालेको माग

काठमाडौँ :  नेकपा एमालेले बुथ कब्जा भएको दोलखाको कालिन्चोक बेगुम्पा र शैलुङ गाउँपालिकाको भूसाफेदा मतदान केन्द्रमा पनि पुन: निर्वाचन गर्न माग गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै बुथ कब्जा भएका कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख र शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा पुन:निर्वाचन गर्न माग गर्नु भएको हो ।

निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुन: निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुन: मतदान गर्न माग गरेको हो । 

‘यस क्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरू कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ’, एमालेको माग छ ।

आइतबार मात्र निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र दोलखाका चार मतदान केन्द्रका १० वटा बुथमा पुन: निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो । सो निर्देशन बमोजीम मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले १५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले बुथ कब्जा भएको उजुरी दिनु भएपछि जाँचबुझ आयोगको टोलीले धाँधली भएको पुष्टि गर्दै पुनः निर्वाचन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आयोगले पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णय अनुसार दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा पुनस् मतदान हुन लागेको हो ।

त्यस्तै, एमालेले बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन पनि माग गरेको छ । टोलीमा एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्य सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | १२ मंसिर २०७९, सोमबार २१:४६