महावीर पुनलाई नेपालकै ठूलो धनराशिको भवन कीर्ति रत्न पुरस्कार

काठमाडौँ -एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान पुरस्कार राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको छ ।

गैह्र आवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ‘भवन कृति रत्न’ पुरस्कार शिक्षामन्त्री देवेन्द्र पौडेल, ‘भवन कृति रत्न’ का संस्थापक भवन भट्ट तथा उनकी आमा इन्द्रकुमारी भट्टद्वारा पुनलाई प्रदान गरिएको हो ।

नेपालका वैज्ञानिक तथा समाजसेवी पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना सहित देशमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्बद्र्धनका लागि पुर्‍याएको योगदानको कदर गर्दै बी बी ट्रष्टका अध्यक्ष भट्टले उनलाई ‘भवन कृति रत्न’ सम्मान सहित एक करोडको राशी प्रदान गरेको हो ।

सम्मान ग्रहण पछि पुनले आफ्नो अभियानलाई थप मजबुत बनाउन टेवा पुग्ने बताउँदै आफ्नो व्यक्तिगत नभई राष्ट्रिय आबिष्कार केन्द्रको लागि रकम खर्चने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले विज्ञान तथा अनुसन्धानका क्षेत्रमा काम गरिरहेको भएता पनि प्रयाप्त नभइरहेको अवस्थामा राष्ट्रिय आविष्कार केन्द्र र यसका अध्यक्ष महाबिर पुनले गरिरहेको कार्य उदाहरणीय बनेको बताउनुभयो ।

ट्रष्टका अध्यक्ष तथा ‘भवन किर्ती रत्न’ पुरस्कारका संस्थापक भट्टले यो पुरस्कार प्रदान गर्न पाएकोमा आफूलाई अभूतपूर्व आनन्द प्राप्त भएको बताउनु भएको छ ।


प्रकाशित | २८ भाद्र २०७९, मंगलवार २१:५२