थाईल्याण्डमा आयोजित एनआरएनए एसिया सम्मेलन सकियो, १२ बुँदे घोषणापत्र जारी (पूर्णपाठसहित)

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भएको छ । यहि अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवरले उद्घाटन गर्नु भएको सम्मेलनमा प्रतिनिधीसभा सदस्य डा.सूर्य प्रसाद पाठक, गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कंडेल, राष्ट्रिय समाबेसी आयोग सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानब अधिकार आयोग सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोग सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक संयोजक (महासचिब) भीम उदास लगायत राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा ३० देशका तिन सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने बिभिन्न बिषय प्रस्तोताहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए ।सम्मेलन श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवालगायत संघले लामो समयदेखि पैरबी गर्दै आएका मुद्दाहरु र संघको संरचनागत सुधारको बारेमा केन्द्रीत रहेको थियो ।

सम्मेलनमा नेपाल सरकारका उच्च पदाधिकारीहरु, संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापकहरु, संघका पदाधिकारी तथा सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरुलगायत संचारकर्मीहरुको उपस्थितिमा सम्पन्न बैठक तथा ज्ञान सम्मेलन निष्कर्षस्वरुप १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

९ औ एसिया प्रशान्त क्षेत्रिय सम्मेलनबाट जारी १२ बुँदे घोषणापत्र

१. दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ ९पिपल अफ नेपाली ओरजिन० हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसँग बिशेष अनुरोध गर्दछ ।

२. एनआरएनएले स्थापनाकालदेखि उठाउँदै आएको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएकोप्रति यो सम्मेलन खुशि व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गर्दछ ।

३. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ । नेपालमा बिदेशबाट पढ्न आउनेहरुले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल वातावरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोेध गर्ने निर्णय गर्दछ ।

४. गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।

५. आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।

६. हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गर्दछ ।

७. बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।

८. संघले उद्धमशिलताको बिकास गर्न बिद्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

९. नेपालको प्रमुख आर्थिक श्रोत बिष्रेशण ९रेमिट्यान्स० लाई औपचारिक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघबीच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ ।साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपुर्ती गरी सहयोग गर्न यो सम्मेलन अपील गर्दछ।

१०. वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचालन गर्न लागिएको १० अर्वको कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ ।

११. मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नेछ ।

१२. यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ थाइल्याण्ड, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरु, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।


प्रकाशित | १२ भाद्र २०७९, आईतवार २०:३६