स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने बताउनु भएको छ । नेता सिंहले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने बताउनु भएको हो ।

आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको उहाँले बताउनुभयो  । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताउनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु प¥यो । अहिलेको यो डिबेट आईराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ । तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो परसनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो ।’

 


प्रकाशित | ८ माघ २०७८, शनिबार २२:१०